शिक्षण जीवनका अनुभवहरु ( १२ )
चैत महिना वार्षिक परीक्षाको रिजल्ट तयार गर्ने र वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु गर्न विद्यार्थी भर्ना र वार्षिक कार्यतालिका बनाउने आदि काममा समय खर्चिनु पर्ने वेला हो ।प्राइवेट बोर्डिंग स्कूलहरूले त अग्रिम रुपमा रणनीति बनाई लागू गर्दछन् । विहान चाँडै गुंड छाडी चारा खोज्न उड्ने चराचुरुंगीले प्रशस्तै चारा बटुल्न सफल हुन्छन् । यस्तै समयमै भर्ना नीति तये गर्ने त्यस्ता विद्यालयले प्रतिभावान विद्यार्थी र सम्पन्न अभिभावक हात पार्छन् । सामुदायिक विद्यालयहरुको भर्ना कार्यक्रम विस्तारै शुरु हुन्छ । मन नलगाइ-नलगाइ घरदैलो र स्वागत कार्यक्रम थालनी गर्दछन् । कतिपय अभिभावकवर्गले सामुदायिक / सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ नहुंने तर्फ गुनासा गर्दछन् ।
केहीले त शिक्षकहरुलाई ” तपाईका छोराछोरी पनि तपाईले पढाउने विद्यालयमा भर्ना गर्न ल्याउनुस अनि हामी पनि त्यहाँ भर्ना गरौंला” भनी चुनौति दिन्छन् । किनभने सरकारी स्कूलका अधिकाँश शिक्षकहरुका सन्तानहरु महंगा बोर्डिंग स्कूलहरुमा भर्ना गरिएका हुन्छन् । विगत वर्षहरुमा पाल्पा जिल्लाका केही विद्यलयका अभिभावक र गाउँवासीहरुले त शिक्षकहरुले पनि आफ्ना छोराछोरीलाई आफूले पढाइरहेका विद्यालयमै भर्ना गर्नु पर्ने अभियान नै चलाए । शिक्षकहरु बाध्य भएर सो माग पूरा गरे । माग उचित थियो । यस्तो गर्दा शिक्षकले तनमन लगाएर पढाउने हुन्छन् । अभिभावकहरुको विश्वास पनि विद्यालयले जित्छ । तर यस्तो गर्दा शिक्षकहरुका सन्तानहरुको घरपायक भने मिलेको हुनु पर्दछ ।
काठमाण्डौंको एक विद्यालयमा मैले लामो समयसम्म पढाएं । नयाँ शैक्षिक सत्रको तैयारी गर्न बस्ने शिक्षक स्टाफ़ वैठकमा शिक्षक स्टाफ र कर्मचारीका छोराछोरी पनि विद्यालय उमेर समूहको भए वा घर पायक पर्ने भए आफ्नै विद्यालयमा ल्याई भर्ना गर्नु पर्ने विचार विमर्श हुन्थ्यो । तर कुराकोलागि कुरा मात्रै हुन्थ्यो । कोही आफ्ना वालवच्चाको हक हितको कुरा गर्थे । कोही मानव अधिकारको दुहाइ दिन्थे । कोही भने निजी क्षेत्रको जस्तै स्तरीय पढाइ हुने ग्यारेन्टी भए त्यहाँ छुटाएर भर्ना गर्न ल्याउने मन्तव्य राख्थे । तर त्यस विद्यालयमा सुचिकार,पियन-पाले र शिक्षक र प्रशासक कसैले पनि आफ्ना छोराछोरीहरु भर्ना गर्न ल्याएनन् । बोर्डिंग स्कूलमा विदा प-यो भने तिनका सन्तानहरु विद्यालयमा ल्याएर टाईम पास गराउँछन् । यसपाली के गर्लान् ? दैव जानुन् ।
मैले भने चालिसकै दशकमा आफ्ना सन्तानहरुलाई आफूले पढाउने विद्यालयमा भर्ना गरी प्रवेशिका उत्तीर्ण गराएको थिएं ।