शिक्षण जीवनका अनुभवहरु ( १३ )
अंग्रेजी माध्यममा पढाइने हुनाले बोर्डिंग वा निजी विद्यालयप्रति आम अभिभावकहरुको आकर्षण बढेको हो । नजिकैको निजी विद्यालयमा खचाखच विद्यार्थी हुन्छन् तर सामुदायिकमा न्यून । फलस्वरूप सामुदायिक विद्यालयहरु मर्ज ( अर्कोमा गाभ्ने ) भएका उदाहरणहरु धेरै छन् । कमजोर पढाइ हुनु मुख्य कारण हो, विद्यार्थीको संख्या घट्नुमा । अर्कों टुटेफुटेको अंग्रेजी नबोल्नुको परिणाम पनि हो । फेरि अर्कों चाहिं , विद्यालय पोशाकमा चिटिक्क नदेखिनु हो ।
विद्यार्थी संख्या बढाउन र स्थिर राख्न अंग्रेजी माध्यममा पढाइ संचालन गर्नु पर्ने अवस्था सृजना हुंन आउँछ । यसो गर्न तल्लो कक्षाहरुबाट क्रमश: अंग्रेजी मिडियममा कक्षा संचालन गर्न संबंधित शिक्षकहरुलाई आवश्यक तालीम दिइ तयार गराउनु पर्दछ । शिक्षकहरुले पनि विशेष मिहिनेत गरी जेष्ठ सहकर्मीबाट रायसुझाव लिई काम गर्नु पर्छ ।सबै विषय अंग्रेजी माध्यममा पढाउनु व्यवहारिक हुंदैन पनि । नतिजा प्रतिकूल हुन जान सक्छ । तर अंग्रेजी
माध्यममा गणित, विज्ञान र अंग्रेजी मात्र पढाउने गरिए पनि विद्यालयको महत्व बढ्छ । यी विषयहरुनै विद्यार्थीको भविष्य ( career ) बनाउनुमा भूमिका खेल्छन् ।
शिक्षकले हेक्का राख्नु पर्दछ कि यदि आफू अध्यापनरत विद्यालयमा विद्यार्थीको संख्या घट्यो भने दरबन्दी सहित अन्य विद्यालयमा सरुवा हुनु पर्ने अवस्था आउँछ, त्यसबेला ” विद्यालय डुबाउने” शिक्षक भनेर तपाईलाई हाजिर नगराउन सक्छ ।