शिक्षण जीवनका अनुभवहरु ( १८ )
२०७१ चैत २० शुक्रबार
शिक्षक र विद्यार्थी बीच भनाभन
पियन – “सर, सर ! कक्षामा झगडा भयो।”
शिक्षक- “सर, सर ! कुमार सर र विद्यार्थी बीच भनाभन भईरहेकोछ।”
प्र.अ.- “लौ म आई हालें।”
कक्षामा कुमार सरले ठूलो स्वरमा बोल्नु भयो, ” Get out from my class”.
विद्यार्थी पनि करायो, “Why ? No get out”.
मैले दुबैलाई अफिसमा लगें । मनिटरलाई कक्षा कन्ट्रोल गर्न भने ।
कुमार सरसंग कारण सोधें । “निज छात्र चकचके, अटेर र कक्षामा आफु पनि नपढ्ने र अरुलाई पनि पढ्न नदिने” खालको रहेको उसकै सामुन्ने गुनासो गरे ।
विद्यार्थीसंग सोधें । निजले भने, “सरले मलाई मात्र हप्काउनु हुन्छ, जहिले पनि गेट आउट भन्नु हुन्छ । अरुलाई पनि यस्तै भन्नु हुन्छ । अरु बोल्दैनन् । म त बोल्छु ।”
दुबै पक्षलाई आ-आफुले गर्नु पर्ने कर्तव्यबारे समझदारी गराइ कक्षामा पठाएं । यस्तो झमेला कुमार सरको अन्य कक्षामा पनि देखियो। वहाँ भन्नु हुन्थ्यो, ” यो यो विद्यार्थी देख्ने बित्तिकै मेरो मुड नै अफ हुन्छ, सर ।यिनीहरु छाँटिएका बदमास हुंन् ।”
मैले सम्झाएँ, ” सर, हामी शिक्षकहरु विद्यार्थी पढाउन भनेर नियुक्ति भएका हौं । अनुशासन उल्लंघन गर्नेलाई मनोवैज्ञानिक किसिमले सजाये दिने उपाय अपनाऔं ।तपाईलाई मुड अफ गराउने विद्यार्थी तिर हेर्दै नहेर्नुस् ।
तपाईलाई मन पर्ने विद्यार्थीतर्फ हेरेर पढाउनुस् । जेहेन्दार तिर हेर्नुस् । छलफलमा उनीहरुलाई नै सहभागी गराउनुस् ।
चकचकेहरु आफै नरम बन्ने छन् ।कृपया विद्यार्थीलाई कक्षाबाट निकाल्ने सोंच अबदेखि त्याग्नुस्।”
कुमार सरले सुझाव मान्नु भयो । त्यसपछि विद्यार्थी र वहाँबीच ” वाक युद्ध ” कहिल्यै भएन ।