शैक्षिक जीवनका अनुभवहरु (३० )
२०७२ वैशाख २ गते बुधवार
२०७१ को अन्तिम घडीमा महाकाली नदीमा चार किशोरीहरुले सामूहिक फाल हालेर जीवन लीला समाप्त पारे । २०७२ को आगमन भयो । शिक्षा जगतलाई थुप्रै प्रश्नहरु तेर्स्याएर ।
नेपालको शिक्षा प्रणालीलाई ती किशोरीहरुले चुनौती दिएर गए । विद्यालयको वार्षिक परीक्षामा अनुत्तीर्ण भएको कारण बन्यो तिनीहरुको जल समाधि । क्रुर आत्महत्या । नसोचिएको परिणाम् । कलकलाउँदो किशोरी जीवन हाम्रो शिक्षा प्रणालीले सदाकोलागि चुंडालेर लग्यो । अपराधशाश्त्रको सिद्धान्त अनुसार जब ब्यक्तिले आफ्नो जीवनमा चारैतिर अन्धकारै अन्धकार देख्छ, प्रकाशको किरण कतै देख्दैन, तब उसले आत्महत्या वरण गर्दछ ।
के उनीहरुलाई विद्यालयले कुनै जीवन ज्योति देखाउन सकेन ? वाल मैत्री शिक्षण अपनाउनु पर्ने शिक्षकहरुले कुनै मनोवैज्ञानिक परामर्श दिन सकेनन् ? कि वालिकाहरु पक्षपातपूर्ण मूल्याँकनको शिकार भए ? एक-दुई हैन, चार- चार जनाले आत्महत्या गर्नु के संयोग हो ? के यसलाई भावीले लेखी दिएको भाग्यवाद भनेर पन्छिनु मिल्छ ? हैन भने मानसिक अवस्था ठीक नभएका किशोरीहरु भनी दिने कि ? के को लागि त्यो “कडा रिजल्ट ?” आगामी वर्षको एस.एल. सी. उत्तीर्ण प्रतिशत दर बढाउन हो कि ? कि शिक्षकहरुको अहं पूर्ति गर्न हो कि ? अनेक प्रश्नहरु स्वतह: उब्जन्छन् ।
हाम्रो शिक्षा परीक्षा प्रधान छ । सीप प्रधान छैन । उत्तरपुस्तिकामा लेखेकै आधारमा मात्र विद्यार्थी योग्य हुंने ? नत्र फेल ? परिणाम , परीक्षाकै नाममा जीवन वलिदान गरिन्छ ।
यो घट्नाबाट शिक्षाका नीति निर्माताहरुले पाठ सिक्नु जरुरी छ ।