शैक्षिक जीवनका अनुभवहरु (३४ )

शैक्षिक जीवनका अनुभवहरु (३४ )

२०७२ वैशाख ७ गते सोमवार

विद्यार्थीको ज्ञानलाई महत्व दिनु पर्छ

नयाँ शिक्षकले शुरु-शुरुमा आफूलाई सबै ज्ञानले सम्पन्न छु भन्ने ठान्छ । उसले विद्यार्थीलाई दबाव ( Pressure ) मा राख्न थाल्दछ ।उसले पढाए, ब्याख्यान गरे अनुसारकै उत्तर लेख्नु पर्ने आदेश दिन्छ । निर्देशन विपरीत भएमा अंक काट्छ । गृहकार्य गरेर ल्याएको मिलेन भनीदिन्छ । कक्षामा प्रश्न सोध्ने विद्यार्थीलाई निरुत्साहित पार्छ । फलत: विद्यार्थीले कक्षामा छलफलमा भाग लिनबाट हच्कन्छ । किन यस्तो गर्छ शिक्षक ? यो उसलाई शिक्षा दीक्षा दिने पहिलेको गुरु, गुरुमाहरुको प्रभावको फल हो । पहिले पहिलेका शिक्षकले आफूलाई “ज्ञानको भण्डार” ( storehouse of knowledge ) सम्झन्थे ।विद्यार्थी त ज्ञान शुन्य ( zero in knowledge ) हुन्छन् भन्ठान्थे ।

तर अहिले त्यो परिकल्पना  सही मानिदैन । पत्र-पत्रिका , रेडियो, टेलिभिजन, कम्प्यूटर , विभिन्न सामाजिक संजालहरुको प्रभावले गर्दा विद्यार्थी अहिले ज्ञान सम्पन्न छन् । विद्यार्थीलाई उसको परिवार, समाज , संस्कृति ,रीतिथीतिबारे केही न केही तथ्य थाहा हुन्छ । शिक्षकले त उसंग भएको ज्ञानलाई प्रष्फुटन गराइ दिनु पर्छ । उसको ज्ञानलाई क्रस चेक गर्न अरु त्यस्तै विद्यार्थीलाई प्रश्न सोधी परीक्षण गर्नु पर्दछ । छलफलबाट निस्केको निष्कर्ष टिपोट गराइ दिनु पर्छ । यसरी अचेल वालमैत्री शिक्षण ( student friendly teaching ) व्यवहारमा ल्याउन सकिन्छ ।