शिक्षण जीवनका अनुभवहरु ( १०९ )
२०७२ असार २६ गते शनिवार
पंचहरु शिक्षामा राजनीति गर्थे
२०२० सालदेखि तत्कालिन बुटवल-खस्यौली नगर पंचायतले नेपालमै पहिलो पटक ५ वटा “अनिवार्य नि:शल्क प्राथमिक प्राथमिक पाठशालाहरु” संचालन गरेर नमूना बनेको थियो । कक्षा १ देखि ५ सम्म शिक्षा पूर्ण रुपमा नि:शुल्क नै हुन्थ्यो । नगर पंचायतले स्थानीय स्तरमा शिक्षा कर लगाएर बजेट व्यवस्था गर्दथ्यो । शिक्षकको न्यूनतम शैक्षिक योग्यता एसएलसी थियो। तालिम प्राप्त र उपल्लो योग्यता भएकाले ग्राह्यता पाउन्थे । लिखित र अन्तरवार्ताबाट शिक्षकको छनौट हुन्थ्यो । योग्य र क्षमतावानले अवसर पाउँथे ।तलब रु.१२५ / १५५ / २२५ / र ग्रेड तथा तालिम भत्ता आदि सुविधा थियो । म २०२७ सालमा नियुक्ति भएं । एसएलसी मात्र भएकोले तलब १२५ / खान्थें । पुग्थ्यो मस्तिले ।
तर पंचहरु खुब राजनीति गर्थे । शिक्षकहरुलाई गुट-गुटमा विभाजन गर्थे । कोठे मिटिंग र चीया पसलमा जमघट गर्थे । माष्टरहरुको ( त्येतिबेला शिक्षकलाई “माष्टर” भनिन्थ्यो । ) चरित्रबारे सोधखोज गर्थे । माष्टरले कुनै पंचलाई नमस्कार गरेन भने त्यसको खुबै आलोचना गरिन्थ्यो । शिक्षा समितिको बोर्ड वैठकमा निजबारे कुरा उठाइन्थ्यो । पत्र पठाइ स्पष्टीकरण समेत सोधिन्थ्यो । सचेत गराइन्थ्यो । चेतावनी पत्र दिइन्थ्यो । त्यस्तै परेमा जागीर चट ।