(११०) हिन्दू धर्मले समन्वयकारी भूमिका निर्वाह गरेकै थियो

शिक्षण जीवनका अनुभवहरु ( ११० )

२०७२ असार २७ गते आइतवार

हिन्दू धर्मले समन्वयकारी भूमिका निर्वाह गरेकै थियो ।निरपेक्षता त नेपाली जनताको माग हुंदै होइन ।

आज संविधानबारे चर्चा गर्न मन लाग्यो । यो देशमा धार्मिक मेलमिलाप त सदा नै थियो । नागरिकलाई स्वतन्त्रता छंदै थियो । बौद्ध धर्म अनुयायीहरु हिन्दू मठमन्दिरमा श्रद्धापूर्वक पूजाआजा गर्दछन् । त्यस्तै हिन्दूहरु विहार,गुम्बामा शीर झुकाइ नै रहेका छन् । ज्ञानमाला भजनमा लीन भएकै छन् । जैन मन्दिरमा पूजा प्रवचन हुंदा सहभागी भएकै छन् । मुस्लिम दाजुभाइको इद पर्वमा सार्वजनिक विदा सरकारले दिएकै छ । नारायणहिटी दरवारको दक्षिणमा विशाल मस्जिदमा प्रति शुक्रवार हजारौं मुस्लिम दाजुभाइले स्वतन्त्रतापूर्वक नमाज पढेकै छन् । राजाहरूले विहानै उठ्दा “अल्लाह अकबर…” को ध्वनि श्रवण गरेर आनन्द लिएकै थिए । क्रिश्चियन समुदायले आफ्नो “प्रभु” को प्रार्थना र बाईबल बाँडेकै हुन् । “गुरुद्वार” राम्ररी चलिराखेकै छ । लुम्विनीले सबैलाई स्वागत गरेर बुद्ध दर्शन फैलाएकै छ ।सर्व धर्म समन्वय छंदै छ । 

के नेपालीले “धर्मनिरपेक्षता” चाहियो भनेर नारा जुलूस ,धर्ना कार्यक्रम गरेर देशै जाम गरेको थियो ?

प्रधानमन्त्रीको कार्यकक्ष घेराबन्दी तालाबन्दी भएको थियो ?

प्रचण्डको कडा सुरक्षा तोडेर धर्मनिरपेक्षता मागेको थियो ?

माधव नेपालको पाउ परेर ” कामरेड ! नेपालीलाई धर्मनिरपेक्षता उपहार देऊ” भनेर विन्ति गरेको थियो ?

६०१ जनाले सभामुखलाई माग पत्र पेश गरेका थिए ?

यी सबै प्रश्नहरुको जवाफ कुनै पनि नेता संग छैन ।

अब समाधान र पश्चाताप यसरी गर्नुस् –

जनमत संग्रह गर्नुस् र आम जनतासंग सोध्नुस् – नेपालको संविधानमा ” हिन्दू राष्ट्र” घोषणा गर्ने कि “धर्मनिरपेक्ष” राष्ट्र” उल्लेख गर्ने ?

जे परिणाम् आउँछ, त्यही स्वीकार हुनेछ , नेपाली जनतालाई ।प