((११८) जनताका प्रतिक्रिया र सुझावहरु संविधानको मस्यौदामा समावेश गर्नसकेमात्र संविधान दीगो हुन्छ ।

शिक्षण जीवनका अनुभवहरु ( ११८ )

२०७२ साउन ५ गते  मंगलवार

जनताका प्रतिक्रिया र सुझावहरु संविधानको मस्यौदामा समावेश गर्नसकेमात्र संविधान दीगो हुन्छ ।

नेपालको संविधानको प्रारम्भिक मस्यौदा , २०७२ मा जनताको प्रतिक्रिया र सुझावहरु संकलन गर्न सभासद्हरु आ-आफ्ना निर्वाचन क्षेत्रमा पुगेर निर्देशित कार्य गर्ने क्रममा हुलहुज्जत, आक्रोश ,आक्रमण ,जुलूस ,मस्यौदा चात्नु र जलाउनु आदि हुन गएको संचार माध्यमले जनाउ दिइ रहेका छन् । यो केही हदसम्म स्वाभाविक पनि छ । अल्प समय प्रदान गरी द्रुत मार्गबाट संविधान जारी गरी हाल्ने आतुर मनसाय आफैमा त्रुटिपूर्ण छ ।तर पनि सकेसम्मको जनाकाँक्षा प्रतिनिधित्व हुने गरी संविधान जारी गर्नु नितान्त आवश्यक छ । प्राप्त राय सुझाहरुको अवमूल्यन हुंन गयो भने संविधानले पूर्णता पाउने छैन । संविधानमा अपरिवर्तनीय भनी कुनै कुरा राख्नु पनि हुंदैन । समय आफै परिवर्तनशील छ । यसलाई कस्ले पो बाँधेर राख्न सक्छ र ? पंचायतले पनि आफ्नो संविधानमा यस्तै चाहना राखेको थियो । तर परिवर्तन भयो । संविधान भनेको समय परिस्थिति र जन आकाँक्षा र चाहना मुताबिक समय समयमा परिवर्तन, संशोधन हुंदै परिपक्वता ग्रहण गर्ने दस्तावेज हो । यो तथ्यलाई दल र तिनका नेताहरूले हृदयंगम गर्नै पर्दछ ।