शिक्षण जीवनका अनुभवहरु ( १३० )
२०७२ साउन १८ गते सोमवार
पशुपतिनाथको दर्शन गर्न मानव सागर उर्लियो
आज साउन महिनाको तेस्रो सोमवार । कमलाले भगवान पशुपतिनाथको दर्शन गर्ने इच्छा गरेकीले प्रात:काल ५:३० बजे नै प्राँगणमा पुग्यौं ।बोलबम काँवरिया भक्तजनहरुको ला—-मो लाम थियो । त्यो लाममा किशोर,किशोरी, युवा-युवति र पाका भक्तहरुको संयोजन थियो । हिमालवासी, पहाडवासी,तराईवासी र सहरवासी सबैतिरकावासी थिए । एउटै मनोकाँक्षाका थिए – शिव दर्शन । एउटै स्वर थियो – ” बोलबम ! बोलबम !! बोलबम !!! पहेंलपूरी भएको थियो , आराध्यदेवको प्राँगण । स्वस्फुर्त थियो भेला ।समर्पण थियो , उत्सर्ग थियो । कस्को निम्तोमा आएका थिए त्यो मानव सागर ? उनीहरुमा कुनै राजनैतिक आग्रह पूर्वाग्रह थिएन । यस्ता शिव भक्तहरुको देशलाई कस्ले चाहेको हो धर्मनिरपेक्ष बनाउँन ? को हो त्यो जसले भन्छ – ” राज्यको कुनै धर्म हुंदैन”भनेर ? त्यो नेपालको माटोमा जन्मेका हैन र ? त्यसले खहरे खोलाको एक अंजुली पानी पिएको छैन र ? बहुसंख्यक जनमानसको कदर संघीय गणतन्त्रमा हुंदैन र ? के नेतातन्त्रको मनपरी हुन्छ र प्रजातन्त्रमा ?