(१३८) अंग्रेजी पढाउँदा translation method पनि उपयोगी हुन्छ ,प्रयोग गर्नु पर्छ ।

शिक्षण जीवनका अनुभवहरु ( १३८ )

२०७२ साउन २६ गते मंगलवार

अंग्रेजी पढाउँदा translation method पनि उपयोगी हुन्छ ,प्रयोग गर्नु पर्छ ।

२५ गतेको बाँकी…

तर सामान्यतया विद्यार्थीको आमाबाबु अंग्रेजी बोल्दैनन् । खेल्ने चौरमा साथीसंगाती अंग्रेजी बोल्दैनन् ।टोलछिमेकमा  अंग्रेजी बोलिन्न । स्वयं शिक्षकहरु स्टाफ रुममा आपसमा अंग्रेजी बोल्दैनन् । कक्षा कोठामा अनेकथरिका भाषा बोल्ने जनजातिहरु हुन्छन् । उनीहरुलाई अंग्रेजी फलामको च्यूरा चपाए जस्तै हुन्छ । सामुदायिक विद्यालयहरुमा ६ वटा घंटी नेपाली माध्यममा पढाइन्छ । मात्र अंग्रेजी ४५ मिनट पढाइन्छ । यस्तो परिस्थितिमा कसरी अंग्रेजीको स्तरीय पढाइ हुन्छ ? 

पाठ्यक्रमको उद्देश्य प्राप्त गर्न केही त गर्नै पर्छ । शिक्षकले परिश्रमकासाथ पढाउंनै पर्दछ । सरल सुबोध अंग्रेजी माध्यममा बोल्नै पर्दछ । विद्यार्थीलाई बोल्न प्रेरित गर्नै पर्दछ । त्यसकोलागि दैनिक प्रयोग गरिने वाक्याँश घोकाउनै पनि पर्दछ ।शिक्षकले प्रश्नोत्तर लेखाइ बारम्बार पढ्न र लेख्न लगाइ सोधनी गर्नै पर्दछ । पाठ्याँशको आवश्यक आवश्यक ठाउँमा नेपाली भाषामा अनुवाद पनि गर्नै पर्दछ ।शिक्षकको दायित्व हो – विद्यार्थीलाई बुझाइ पढाउनु ।शिक्षकले मात्र कक्षामा अंग्रेजी फटफटाएर हुंनेवाला केही छैन । कसै कसैले गर्व पनि गर्दछन् , अंग्रेजीमा नै पढ़ाएँ, बोलें भनेर । यस्तो जड व्यवहारले भैंसीको सामु बाँसुरी बजाउनु जस्तै हुन जान्छ । 

आजकाल communicative English को बोलबाला छ । Translation method लाई traditional method भनेर गिल्ला गर्नु कदापि हुंदैन । पाठलाई सरल बनाइ बुझाउन यो विधि प्रभावकारी छ ।