(१४९) काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं ।

शिक्षण जीवनका अनुभवहरु ( १४९ ) 

२०७२ भाद्र  ५ गते शनिवार 

काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं ।

२०७२ भाद्र ४ गतेको बाँकी…

रुपन्देही ,बुटवलबाट म र कालिका मा.वि.का प्र.अ. कौशल राज बस्याल जिल्ला स्तरीय प्रश्न-पत्र छपाउन बनारसको विश्वनाथ गल्ली स्थित माधव मुद्रणालय (प्रेस)मा बसेका थियौं । प्रेस मालिकले स्वामीजीसंग परिचय गराइ दिनु भयो ।दिनभरि जसो हामी आ-आफ्ना काममा ब्यस्त हुन्थ्यौं । राती बास बस्न स्वामीजी त्यहीं आउनु हुन्थ्यो । त्यतिखेर वहाँ ” वेदमा के छ ?” भन्ने पुस्तक छापेर वितरण व्यवस्थापन गर्न लाग्नु भएको थियौं ।वैदिक ज्ञान, आफ्नो जीवन र नेपालको शिक्षाबारे छलफल गर्न रुचाउनुहुन्थ्यो, स्वामीजी । नयराज पन्तलाई विद्वान मान्छु भन्नु हुन्थ्यो । काठमाडौं उपत्यकालाई “अधित्यका”भन्नु पर्ने विचार थियो, वहाँको । साकाहारी खानपान भएका वहाँले साम्बर मन पराउनुहुन्थ्यो । औधि पिरो तरकारी खानु पर्ने । हामीलाई पनि आफुले खाने भोजनालयमा लैजानुहुन्थ्यो । खान्थ्यौं स्वादिष्ट भोजन ।पेमेन्ट हामी स्वयं गर्ने गर्थ्यौं । तर पिरो खानाले हाम्रो पेट बिग्रियो।कारण बताएर हामी अन्तै खान थाल्यौं । वहाँलाई मान गर्नेको जमात नै हुन्थ्यो । काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं । सन्त समागममा पनि गयौं । विशिष्ट स्थान थियो वहाँको । राति वहाँको ज्ञान,गुन ,प्रवचन सुन्दै निदाउन्थ्यौ ।सायद वेद रसको बानी परेको थिएन, हामीलाई त्यतिबेला ।( क्रमश: )