( १६४ ) एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।
शिक्षण जीवनका अनुभवहरु
२०७२ भाद्र २१ गते सोमवार
घंटी लागेपछि चक, डष्टर र किताब लिएर अफिस गएं । टेबुलमाथि राखें । बाहिर गएं । बाहिर अवलोकनकर्ताहरु बसिरहेका थिए । एक जनाले भने, ” सर, १८ / २० वर्ष शिक्षण गरेका शिक्षकको पूरै कक्षा अवलोकन गर्नु आवश्यक ठानेनौं, हामीले । अरु प्रतियोगीहरु पनि छन् । एक हप्तापछि रिजल्ट दिने छौं, धन्यवाद ” , एक मोटो ,रौं सेतो देखिने, चाक्लो अनुहार भएका ब्यक्तिले भने ।” सबैलाई ” नमस्कार ” गरी म सिनामंगल चौकतिर लागें । केही किनमेल गर्दै थिएं ।त्यसैबेला कक्षा शिक्षणपछि बोल्ने ब्यक्ति भेट भए । उनले आफूलाई विसंसको अध्यक्ष भएको परिचय दिए । हात मिलाए ।
” मेरो एउटा प्रस्ताव छ । अर्का एक जना योग्य मित्र पनि हुनु हुन्छ । विद्यालय दुई शिफ्ट संचालन हुन्छ । तपाई भिजिटिंग टिचर भएर दिउँसोको शिफ्टको प्र. अ. भई संचालन गर्नुस् । निजले विहानको मा.वि. शिफ्ट संचालन गर्छन् । मिलेर काम गरौं ।”
” सर, यो भिजिटिंग टिचर भन्ने विद्यालय स्तरमा प्रचलित छैन । विश्वविद्यालयमा भिजिटिंग प्रोफेसर हुन्छ । एक विद्यालयमा दुई प्रअ रहनु भनेको विवादास्पद विषय हो । एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।”
खिस्स हाँसेर “सी यू” भन्दै बाइक कुदाउंदै गए, अध्यक्ष । ( क्रमश:..)