शिक्षण जीवनका अनुभवहरु (७९ /८० )
२०७२ जेष्ठ २२ /२३ गते शुक्रवार / शनिवार
पाल्पाको रामपुर बन्दैछ ब्यवस्थित सहर
जेष्ठ महिनामा बुटवलको उखर्माउलो गर्मी सही नसक्नु हुन्छ । केही दिन छल्न परिवारकासाथ कतै शितल ठाउँतिर जाने मनसुवा भयो । जुर्यो मनका कुरा । आफन्तबाट विहेको चूल्हे निम्ता आयो । निम्ता स्थल पाल्पाको आर्यभन्ज्याँग रै’छ। जन्ती जाने थलो चैं पाल्पा कै रामपुर । दुल्हा राजा कोरियामा कार्यरत । दुलही रानी भर्जिनीया अमेरिका रहेकी ।दुबै पाल्पाली । २१ गते १०:४५ मा टोलकै एक जना भाइको गाडी रिजर्व गर्यौं । प्रभास निर के पुगेथ्यौं, आकाशमा बादल छाउन थाल्यो । चीसो हावा हरहर चल्यो । लाग्थ्यो, शीखरमा पुगियो । यस्तो ठाउँमा बसेकालाई त रोगले पनि छुदैन । दीर्घजीवी हुन्छ मानिस, यस्तो हावापानी पाएमा । १ बज्नै लाग्दा पुग्यौं , गनतब्य । झरझर पानी पर्यो । हूरी पनि आयो । मौसम बदल्यो । आहा ! या मज्जा ! राती सिरक ओढेर सुतियो । लामखुट्टेको नामो निशान थिएन ।
२२ गते बिहान १० बजे । प्रस्थान ग-यो जन्ती, रामपुरनिम्ति । साँगुरो सडक । पहाडी ईलाकामा घुम्ती नहुने त कुरै भएन । दायाँ बायाँ पाखा पखेरो । क्या हरियाली । आँखाको उपचार भयो । गाडीले उचाल्ने । पछार्ने । रिंगाउने । पेट बटार्ने । वाक् वाकी लगाउने । भोमिट भैहाल्यो । अमीलो पानी ,अमिलो पानी । भएन त सिलटिम्मुर ? गाडी लाग्यो । आर्यभन्ज्याँग – रामपुर यात्राले मलाई विर्तामोड -ताप्लेजुंग यात्राको संझना गरायो । यो सडकको यात्रा रमणीय छ । हरियाली छाएको जताततै बाँसघारीले गर्दा । जोखिमपूर्ण छ, पहाडी राजमार्गको यात्रा । जीवन अर्पण गरेर गाडी हाँक्छन्, चालकहरु ।
रामपुर नव घोषित नगरपालिका । पाँच गाविस गाभेर बनेको भन्ने सुनियो । चारैतिर पहाड । बीचमा समतल फाँट। भैरहवाको झझल्को दियो रामपुरले । गर्मी ३६ डिग्री सेल्सियस । होंचो ठाउँमा अवस्थित छ, रामपुर ।सडक बन्दैछ ।धुलाम्य छ, धेरै सडक ।नव निर्माण हुंदैछ, रामपुर । मगर, नेवार, नेपाली मुलका मुस्लिम ( चुरेटा) , भूतपूर्व सैनिक निवास गर्ने लाहुरे वास र समग्रमा मिसमास बस्ती हो , रामपुर । भ्यू टावर डाँडामा बनेको रहेछ । सायद ढल पनि बन्दैछ । ब्यवस्थित आधुनिक सहर बन्दैछ । दुलही लिई फर्क्यौं हामी जन्ती । रातको ठ्याम्मै १२ बज्यो, आर्यभन्ज्याँग आई पुग्दा ।
नयाँ ठाउँको यात्रा गर्नाले भूगोलको ज्ञान पाइन्छ। मनोरंजन हुन्छ । जातिजनजाति र संस्कृतिको अध्ययन गर्न पाइन्छ ।