(९६) एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( ९६ )

२०७२ असार ९ गते बुधवार

एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ ।

अरुचिकर, अभाषिक र अव्यवहारिक विषयको पठनपाठनको कारणले एसएलसी परीक्षामा अनुत्तीर्ण हुंनेको संख्या बढ्ने कुरा ब्लग नं. ९५ मा उल्लेख गरें । 

॥ १ ॥ एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ । जस्तो कि यदि निजी बोर्डिंग स्कूलमा पढाउने शिक्षक / परीक्षकले सामुदायिक स्कूलबाट परीक्षा दिने विद्यार्थी / परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण ग-यो भने त्यो परीक्षार्थीले कम अंक पाउँछ । किन कि त्यस परीक्षार्थीले नेपाली भाषामा उत्तर लेखेको हुन्छ । बोर्डिंमा नेपाली भाषा बाहेक अन्य विषय अंग्रेजी माध्यममा पढाइन्छ । अंग्रेजी माध्यममा पढाउने शिक्षकले  नेपाली माध्यममा उत्तर लेख्ने विद्यार्थीलाई अपवाद बाहेकको अवस्थामा थोरै अंक प्रदान गर्दछ । 

॥ २ ॥ यस्तै गरेर नेपाली माध्यममा पढाउने शिक्षकले अंग्रेजी माध्यममा लेखिएको उत्तरपुस्तिका परीक्षण ग-यो भने धेरै अंक प्रदान गर्दछ । विद्यार्थीको लेखन शैलीबाट निज शिक्षक आवश्यकता भन्दा बढी प्रभावित हुन पुग्दछन् ।

॥ ३ ॥ परीक्षकको अहंमा पनि नतिजा निर्भर हुन्छ । नेपालमा प्राय: परीक्षकले आफ्नै स्तरमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्दछन् । “यत्ति जाबो पनि यसलाई लेख्न आएन” भन्दै कम अंक प्रदान गर्दछन् । जब कि परीक्षकले परीक्षार्थीको स्तरमा उत्रेर उत्तरपुस्तिका परीक्षण गर्नु पर्ने हुन्छ ।निजले ” मैले एसएलसी दिंदा कत्तिको लेख्न सकेको थिएँ” भन्ने सोंच्नु पर्दछ । परीक्षार्थीको मौलिक शैली, भाव र अभिव्यक्त गर्न खोजेको सारमा अंक प्रदान गर्नु पर्ने हुन्छ । ( क्रमश: )