कविता कथा
………………..
आमाको पर्खाइमा
श्मसानको दन्किएको चितामा
आमाको लाश खरानी हुंदैछ ।
उता-
एउटा वालक
तोते बोलीमा-
“आमा घल आन्छ पापा मालाई दिन्छ”, भन्दै
दैलोमा उभिई
हेरी रहन्छ बाटोमा
हेर्छ, हेर्छ, आउन्न ।
निदाउँछ त्यो पर्खाइमा
पलक पछि
त्यो एक्कासी झस्कन्छ
रून्चे स्वर सुनी
उसको बुबाको
“बाबु, किन याँ,जाउँ बा, भित्र जाउँ ।”
एक पटक शंकाको दृष्टिले
हेर्छ उसले ।
बुबाको तर भएको
नाँगो शरीरमा
र सोध्छ-
“आमा, आमा खै नि ?”
भक्कानो रोक्दै
विचलित हृदय सम्हाल्दै
भन्छ मन बुझाउन वालकको
“हेर बाबु, ऊ मा-थि”
हेर्छ ऊ नील गगनको चारैतिर
फेरि सोध्छ-
” खै त ?”
“ऊ त्यहीं छ, तिमी देख्तैनौ, बाबु ,
ती ताराहरू भन्दा पनि
धेरी -धेरी पछाडी ।”
(रचना काल: २०३८ /०९/१०)