शिक्षण जीवनका अनुभवहरु ( १० )
चैत महिना विद्यालयकोलागि परीक्षा लिने,उत्तर पुस्तिका परीक्षण गर्ने र परीक्षाफल प्रकाशित गर्ने समय हो । स्वच्छ परीक्षा लिने र निष्पक्ष मूल्याँकन गर्नु शिक्षकको दायित्व हो । विद्यार्थीले मिहिनेतको र अभिभावकवर्गले आफ्नो लगानीको वार्षिक फल पाउने वेला हो । २०४८ / २०४९ को शैक्षिक सत्रको कुरा हो ।म काठमाण्डौंको एक विद्यालयमा प्रधानाध्यापक थिएं । परीक्षाफल प्रकाशित भएपछि कक्षा ७ र ९ का विद्यार्थीहरुले प्राप्त नतिजामा २ जना शिक्षकहरुसंग चित्त नबुझाइ गुनासा गरे । शिक्षक र विद्यार्थी बीच भनाभनको अवस्था देखा पर्यो । स्थिति सम्हाल्न गुनासोबारे तथ्य बुझी जानकारी गराउने निर्णय दिएं । सम्बन्धित शिक्षकहरुसंग छलफल गर्दा उत्तर पुस्तिका हराएर त्यस्तो परिस्थिति आएको थाहा लाग्यो । अन्दाजको भरमा अंक प्रदान गर्दा बवाल भयो । विद्यार्थीहरूलाई अब उप्रान्त न्याय हुंने आश्वासन दिएर शान्त पारियो ।
शिक्षकले लापरवाही गर्दा यस्तो हुन आउँछ । कापी हराएको जानकारी नगराउनु , विना परीक्षण नंबर हाली रिजल्ट बनाउनु गुरु धर्मबाट चुक्नु हो । ती शिक्षकलाई चेतावनी दिइयो । अस्थायी भएकाले पछि म्याद नथपेर विदा गरियो ।
शिक्षण जीवनका अनुभवहरु ( ११ )
नं. १० मा मैले परीक्षाको उत्तर पुस्तिका परीक्षण नगरेर नं. दिंदा आउने बवालबारे चर्चा गरें । प्रायः यस्तो समस्या आउँछ, यदि शिक्षकले लापरवाही गरे भने । सामुदायिक विद्यालयमा देखिने तीतो सत्य हो, यो । धेरै कक्षा लिई पढाउनु पर्ने, एक भन्दा वढी विद्यालय / कलेजमा पढाउने शिक्षक, राजनीति / पेसागत संघ संगठनमा बढी सक्रिय रहने, विद्यालय प्रशासनको वरिपरि परिक्रमा गर्ने ,आफ्नो व्यवसाय गरी शिक्षण पेसालाई “दोस्रो दर्जा”को पेसा ठान्ने र धेरै ट्यूसन पढाउने महानुभावहरुबाट हुन जाने लापरवाही हो ।
यस्तो लापरवाहीको समाधानकोलागि हरेक परीक्षाको उत्तर पुस्तिका परीक्षण गरेपछि फाईलमा राखी मार्कशीट सहित विद्यार्थी / अभिभावक लाई बुझाई दिनु पर्छ । शिक्षकहरु प्रशासनसंग भने खुबै मुरमुर्रिन्छन् । विद्यार्थीहरुले आफ्नो गल्ती समात्लान भनेर शिक्षकहरु पहिले नै होशियार भई कपी परीक्षण गर्ने हुन्छन् । यो नियम अब धेरै विद्यालयहरुले लागू गर्दै आएका छन् । यसबाट विद्यालय र अभिभावक वीच संचार- सम्पर्क बढ्छ । विद्यालयको साख पनि बृद्धि हुंदै जान्छ ।