शैक्षिक जीवनका अनुभवहरु (३१ )

शैक्षिक जीवनका अनुभवहरु (३१ )

२०७२ वैशाख ४ गते शुक्रवार

चुनौती सामना गर्न प्रेरणा दिने नेता थिए सूर्य बहादुर थापा

आज सन्ध्याकालीन ध्यानमा एकाग्रचित्त हुन सकिएन । भूतपूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको देहावसानले वहाँको ब्यक्तित्वको  झझल्को आई रह्यो । २०५६ को मध्यमा वहाँसंग भेट्ने इच्छा निजी सचिवसंग निवेदन गरें । दिउँसोको २ देखि २:३० सम्ममा १५ मिनटको समय मिल्यो । म १:४५ बजे नै पुगें ।म पत्रपत्रिका पढेर बसें ।  प्रतिक्षा कक्षमा धेरै कुर्नु परेन । 

” जोशी सर” भन्दै वहाँ कोठामा आउनु भयो । जुरुक्क उठेर “नमस्कार हजुर” भनी अभिवादन गरें ।हात बढाउनु भयो । अप्ठेरो र अचम्भित हुंदै हात मिलाएँ । न्यानो थियो हात । बसौं भन्नु भयो  । बसें । शिक्षण पेसामा लागेको छोटो परिचय दिएँ ।  शिक्षा क्षेत्रका केही विषयमा कुरा गरें । चीया पनि आयो । फेरि अचम्म लाग्यो । राजनीति इतरको म मनुवालाई पनि चिया , मन मनै भने । 

” १५ मिनट त सकियो, हजुर।” 

” गरौं कुरा मलाई हतार छैन, आज ।”

ब्यक्तिगत समस्याबारे पनि अवगत गराएँ । ध्यान दिएर सुन्नु भयो । भन्नु भयो, “हर कुरालाई राजनैतिक रंग दिइन्छ , अचेल । चुनौतिको सामना गर्दै गरेको थाहा पाएँ । डटेर लाग्नुस । सत्यमेव जयते।”

३० मिनट कुरा भयो । भेट्न पाएकोमा धन्यवाद ज्ञापन गरें । अभिवादन गरें । विदा भएं ।

” आउँदै गर्नुस् ,है।”

“हवस् ” म झुकें ।

आज त्यो भेट स्मरण भएको छ । सामान्य मानिसलाई पनि न्यानो पनले भेटघाट गर्ने वहाँको शैलीले म प्रभावित छु ।छु । चुनौती सामना गर्ने हौसलाले म सधैं प्रेरित छु ।