शैक्षिक जीवनका अनुभवहरु (५९)

शैक्षिक जीवनका अनुभवहरु (५९)

२०७२ जेष्ठ १ गते शुक्रवार

मानिसलाई पहिला घर बनाउन सघाऊ । अनि विद्यालय । त्यसपछि मठ मन्दिर र राष्ट्रिय महत्वको पन: निर्माण ।

महाभूकम्पको  विनाश र त्रासदीले गर्दा नेपालीमनहरु टुटेका छन् । कैयौं नेपालीहरु घरवास विहीन भनेका छन् । अल्पकालीन राहत वितरण लगत्तै ओत लाग्नु पर्ने वर्षा वेला आउँदैछ । वालवच्चा,सुत्केरी र बृद्धबृद्धालाई आश्रयको नितान्त आवश्क्ता पर्दछ । यसर्थ बस्ने घर बनाउनु प-यो । निमुखा-पीडितहरुले प्राथमिकता पाउनु पर्दछ । सरकारले सबभन्दा पहिले यिनीहरुलाई घर बनाउन सघाउनु पर्दछ ।  खगेन्द्र संग्रौलाले लेखे झैं ( कान्तिपुर वैशाख २९ ) “मानिसलाई पहिले घरको खाँचो पर्दछ । देवी-देवतालाई पछि मठ मन्दिर बनाए पनि हुन्छ ।” उनीहरु पनि यस्तो वेलामा मानिसलाई नै प्राथमिकता दिई हाल्छन् । तर वलियो योजना बनाउन चाहिं सरकार चुक्नु हुंदैन ।

अनि भविष्यका कर्णधारहरुको ध्वस्त भएका विद्यालयहरु निर्माणमा लाग्नु जरुरी हुन्छ । त्यो भन्दा पहिले पूर्ण क्षतिग्रस्त विद्यालयहरुमा अस्थायी रुपमा पठनपाठन हुंने प्रबन्ध गरिनु वाँछनीय हुन्छ । त्रसित कलिला मनहरुलाई शिक्षकहरुले मनोसामाजिक समायोजन गर्ने खालका परामर्श दिदै पढाइ संचालन गर्दै लैजानु पर्दछ ।

तत्पश्चात तेस्रो चरणमा राष्ट्रिय सांस्कृतिक सम्पदा , एतिहासिक गौरवका संरचनाहरु र धार्मिक आस्थाका मठ मन्दिर देवालयहरु र प्रशासनिक कार्यालय भवनहरु बनाउने योजना कार्यान्वयन गर्नु, गराउनु उपयुक्त हुन्छ ।