( ७० ) ढुंगाको भर माटो । माटोको भर ढुंगा ।यो संसार भरै भरले अडेकोछ ।

शिक्षण जीवनका अनुभवहरु (७०)

बुटवल ।

२०७२ जेष्ठ १२ गते मंगलवार

ढुंगाको भर माटो । माटोको भर ढुंगा ।यो संसार भरै भरले अडेकोछ ।

यो भनाइ नासो कथा संग्रहको ” छिमेक” शिर्षक कथामा पढ्न पाइन्छ । कथाकार गुरु प्रसाद मैनाली ।(  गल्ती भए सच्याइ दिनु होला ।)  मार्मिक कथा छ , यो ।हिजो आज झण्डै आधा आधि नेपाली जिल्ला सहर, गामवेसीहरु महाभूकम्पको ताण्डव नृत्यको शिकार भएका छन् । आफन्त गुमेको वेला छ ।बेपत्ता छन् कोही ।घाइतेहरु उपचारमा छन् । कतिका घर भत्किएकोछ । मन भत्किएकोछ । कत्ति किंकर्तव्यविमुढ छन् । राहत पुग्न ढीलाइ हुंदैछ ।वर्षा लाग्नै लाग्यो । अोत लाग्नु  जरुरी छ । पाल /  त्रिपाल दीगो समाधान हैन ।हाम्रो गाउँ राहत नै भनेर कुर्नेवाला छैन ।
भएको सरसामान जोरजाम गरेर , नभएको ऐंचोपैंचो गरेर पुन: निर्माणमा लागी सके । एउटा घरधुरीले अर्का  घरधुरीलाई सघाउने स्थानीय विचार-प्रविधि हो, यो । एकापसमा भर पर्नाले छिटो काम फत्ते हुन्छ ।ढुंगाको भर माटो । माटोको भर ढुंगा ।यो संसार भरै भरले अडेकोछ । लडे पछि उठ्न जानेको छ , नेपालीले ।
गाउँ छिटै आत्मनिर्भर भै सक्छ ।