शिक्षण जीवनका अनुभवहरु ( ८५ / ८६ )
२०७२ जेष्ठ २९/ ३० गते शुक्रवार / शनिवार
भारत र चीनले गरेको लिपुलेक सम्झौतामा नेपाललाई पनि समावेश गर्नु पर्दछ ।
लिपुलेक महाकाली नदीपारि कालापानी क्षेत्रमा पर्छ ।यो दार्चुला जिल्लाको व्यास गाविस हो ।नेपाल र चीनको सीमा हो । यसैबाटो भएर मित्र राष्ट्रहरु भारत र चीनले आपसमा ब्यापारिक नाका खोल्ने सम्झौता गरेका छन् भन्ने खबर सार्वजनिक भएको छ । यो गएको जेठ १ गतेको कुरा हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्र्मणको बेला सम्पन्न भएको ४१ बुंदे सम्झौताको हुंदा नं. २८ मा उल्लेख छ भन्ने तथ्य प्रकाशमा आएकोछ । यो सम्झौता हुंदा दुबै देशले नेपाललाई बिर्से छन् । जुन देशको भू-भाग भएर ब्यापार गर्नु छ , उसैलाई बेवास्ता गरियो । यो पक्कै बल मिच्याइँ त हुंदै होइन । किन कि नेपाल सार्वभौंमसम्पन्न देश हो भनेर दुबैलाई राम्ररी हेक्का छ । अन्तर्राष्ट्रिय मान्यताले पनि यसो गर्न दिंदैन भन्ने । यो हड्बडमा छुट्न गएको, भूल हुन गएको मात्र हो जस्तो लाग्दछ । कहिले काँही विहेको निमन्त्रणा नजिकैको नातेदारलाई दिन भूलेझैं । यसर्थ मित्र राष्ट्र चीनले तुरन्तै सच्याउने छ भन्ने हामी विश्वास गरौं । भारतले पनि महसूस गर्ने नै छ । त्यो हुंदा नं. २८ सच्याएर नेपाललाई पनि सहभागी गराइ त्रि-पक्षीय ब्यापार सम्झौता हुनु नितान्त आवश्यक छ ।
नेपालले यसलाई गम्भीर चासोको विषय बनाइ कुटनीतिक माध्यमबाट उक्त बुंदाको सम्झौता सच्याउने तर्फ क़दम चाल्नुमा नै देशको हित हुनेछ ।