शिक्षण जीवनका अनुभवहरु ( ९२ )
२०७२ असार ५ गते शनिवार
सामुदायिक विद्यालयको एस.एल. सी. नतिजा सुधारोन्मुख
धेरै गाली खाइयो विगतमा सामुदायिक विद्यालयको एस. एल. सी. परीक्षाको नतिजा ओरालो लाग्ने गरेकोले । “माष्टरले राजनीति गरे । नेताका पछि पछि लागे । ठगे । पढाएनन् । खेताला शिक्षक राखे । मन लगाएर पढाएनन् । हाजिर नभै तलब भकुरे ।” यस्ता यस्ता मानमर्दन गर्ने गाली खाने बानी नै भएको थियो । केही हदसम्म गाली ठीक पनि छन् । तर मिहिनेत गरेर इमानपूर्वक पढाउने शिक्षकलाई मुछ्नु हुंदैन । नतिजा फरक पर्नुमा अनेक कारक जिम्मेवार छन् । प्राय: सामुदायिक विद्यालयमाहरुमा श्रमिक वालवालिका भर्ना गरिएका हुन्छन् । साहुबा, साहुनी आमाको रातदिन काम गरी बचेको समयमा पढ़ने विद्यार्थीको नतिजा स्वाभाविकैले उत्कृष्ट हुंदैन नै । अपवादको कुरा छोड़ौं । हुने खानेका लालावाला त निजी स्कूलमा गएकै त छन्, बाबै । विद्यार्थीको पृष्ठभूमिमा नतिजा तलमाथि हुन्छ । अभिभावकको सचेतना नतिजा फरक हुन्छ । विद्यालयको विद्यार्थी कल्याण कार्यक्रम र शिक्षकको टिम वर्कमा नतिजा भर पर्दछ ।
२०७१ सालको सामुदायिक विद्यालयको एस.एल. सी. नतिजा सुधारोन्मुख रहेको तथ्याँक देखा परेकोछ । २०६९ मा २८.४२ %, २०७० मा २८.२९ % र २०७१ मा ३३.१८ % नतिजामा सुधार आएको पक्कै हो । झण्डै ५ % बृद्धि भएको छ । राजनीति गर्न त शिक्षकले छाडेका छैनन् । अलिक कमी आएको पक्कै हो ।शिक्षा मन्त्रालयले अनुगमनमा निरन्तरता दिएको कारण पनि एक हो । विद्यालयहरु आफैले पनि अंग्रेजी माध्यममा शिक्षण थालेको पक्ष पनि एक हो । अभिभावकहरुको आर्थिक स्थितिमा सुधार भएको अर्को पक्ष पनि जिम्ममेवार हो । क्रमश: