शिक्षण जीवनका अनुभवहरु ( १०६ )
२०७२ असार २३ गते बुधवार
जान्ने,नजान्ने सबैलाई फाइदा पुग्थ्यो ।
त्यसबेला ( २०२७ साल ) कक्षामा आफ्नो विषयको पाठ पढाएपछि गृह कार्य दिनु पर्ने अनिवार्यता थिएन । तर पनि पाठको प्रकृति अनुसार विद्यार्थीहरुले बुझेबुझेनन् भन्ने मूल्याँकन गर्न गृह कार्य दिनु शिक्षकको स्वविवेकमा भर पर्दथ्यो । गृहकार्यलाई home task भन्ने चलन थियो । साताको २-३ दिन म होम टास्क दिन्थें । प्राय: होम टास्क पुस्तकको अभ्यास भित्रैबाट दिन्थे । सबै विद्यार्थीसंग किताब भने हुंदैनथ्यो । त्यसैले कालोपाटीमा प्रश्न लेखी दिन्थें । उनीहरु आफ्नो कापीमा सार्थे ।कोही सार्थे । कोही सार्न पनि जान्दैनथे । जान्नेलाई नजान्ने साथीको कापीमा होम टास्कको प्रश्न सार्न अह्याउँथें । केहीको कापीमा म आफैले पनि लिखि दिन्थें । अर्को दिन होम टास्क चेक गर्न कापी जम्मा पार्थें । ८-१० जनाले मात्र बुझाउँथे ।नबुझाउनेलाई कारण सोध्दा जवाफ दिन्थे – आएन, बिर्सें, किताब छैन, बत्ती निभ्यो , मट्टितेल सकियो । कोही मौन हुन्थे । यस्तो अवस्था सधैं आउँथ्यो ।
समाधान आफैले निकाल्थें । प्रश्न -उत्तर कालोपाटीमा लेखि दिन्थें । सस्वर वाचन गर्थें । सबैलाई ठूलो स्वरमा दोह्र्याउन लगाउथें । यो प्रक्रिया ४-५ पटक चलाउंथे । यसो गर्दा जान्ने,नजान्ने सबैलाई फाइदा पुग्थ्यो ।