शिक्षण जीवनका अनुभवहरु ( १२३ )
२०७२ साउन १० गते आइतवार
त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।
कुरा २०२७ सालतिरको हो । म बुटवल -खस्यौली नगर पंचायतद्वारा संचालित अनिवार्य नि:शुल्क प्राथमिक पाठशाला केन्द्र नं.१ कालिका नगरमा पढाउँथें । म पढाइ लेखाइको मामलामा अलिक कडाइ गर्थें । गृह कार्य नगर्ने विद्यार्थीलाई केही न केही सजाय दिन्थें । एक दिन १० / १२ जनाले गृह कार्य गरेर ल्याएनन् । तिनीहरुलाई विद्यालय पछाडि लगें । त्यहाँ खेतमा सिंचाइ गर्ने कुलो थियो । “लौ तिमीहरु १० मिनट कुलोमा उभिएर बस”, मैले निर्देशन दिएं । एउटा गएर पानी छोयो ।”ओ हो , मरिन्छ ।” , भन्न थाल्यो । ढीलो विद्यालय भर्ना भएका केटीहरु लजाउन थाले । म आफै कुलोमा एकछिन उभिनु थालें ।पानी चीसो थियो ।किन कि जाडो याम पुस थियो । दिन लागेको सजाय रोकें ।विकल्प सोचें । भने- “भैगो, जाडो छ । कक्षा कोठा सफा गर अथवा करेसाबारी गोडमेल गर । रोजेर काम गर ।”
छात्रहरु करेसाबारी तिर गए । छात्राहरु कक्षा कोठा सफा गर्न गए । त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।