लोभको भाँडो नभर्ने नै भयो ।
टेष्ट परीक्षा पास गर्ने बिद्यार्थीहरूलाई एस.एल.सी. परीक्षा राम्रो श्रेणीमा उत्तीर्ण गराउनु पर्थ्यो । विशेष मार्ग निर्देशन चाहिन्थ्यो । २०४० सालदेखि रात्री स्कूलले ज्ञानोदय कोचिंग सेन्टर संचालन ग-यो । शुरूमा अाफ्नै विद्यालयका विद्यार्थी पढ्थे । पछि अन्य विद्यार्थीलाई पनि पढ्न दिइयो । सुगम र दुर्गम जिल्लाहरूबाट समेत यस कोचिंग सेन्टरमा पढन अाउँथे । ४० । ४० जनाको पाँच सेक्सन चल्थ्यो । पढाउने सबै शिक्षकले अा-अाफ्नो विषयमा परीक्षोपयोगी पुस्तक लेख्नु पर्ने नियम थियो । कोचिंग सेन्टरले प्रकाशित गर्थ्यो । भर्ना हुन अाउने बिद्यार्थीहरूलाई निःशुल्क उपलब्ध गराइन्थ्यो । कोचिंगबाट तीन फाइदा पाइन्थ्यो । एक – बिद्यार्थीहरू लाभान्वित हुन्थे । दुई – शिक्षकको वर्षमा एक पटक अतिरिक्त अामदानी हुन्थ्यो। तीन- विद्यालयले २० प्रतिशत रकम पाउँथ्यो । यसलेगर्दा अायस्रोतमा केही रकम थपिन्थ्यो । हरेक वर्ष पालोपालो संयोजक तोकिन्थ्यो ।उसले कोचिंगको पूर्ण ब्यवस्थापनको जिम्मेवारी लिन्थ्यो । छुट्टै भत्ता पाउँथ्यो । अाफ्नो विषयाध्यापन गरे बापत सबै सरह पारिश्रमिक पाउँथ्यो । उठेको शुल्कमा खर्च कटाइ शिक्षकहरूले पढाएको पिरियड अनुसारको पारिश्रमिक पाउँथे । २०४४ सालमा एकजना संयोजकले बेग्लै प्रस्ताव ल्याए । सातामा ३, ४ र ६ पिरियड पढाउने सबैखाले शिक्षकलाई बराबर रकम पारिश्रमिक दिने हिसाब पेश गरे । अर्थात प्रतिहप्ता ३ , ४ र ६ पिरियड पढाउनेलाई समान पारिश्रमिक बितरण गर्ने भन्ने हिसाब राखे । मलाई चित्त बुझेन । न्यायोचित नभएको सुझाएँ । मैले बिमति राखें । तर्क गरें । परिश्रम अनुसारको पारिश्रमिक दिनु पर्छ भनेर अडान लिएँ । म अंग्रेजी पढाउने र अर्का एकजनाले अनिवार्य गणित पढाउने गरी हामी दुई जना मर्कामा प-यौं । तर हाम्रो कुरा कसैले सुनेनन् । ६ जना दामासाहीले बराबर बाँड्ने पक्षमा उभिए । सही कुरा बोल्ने हामी दुई जना अल्पमतमा प-यौं । अर्को दिन छलफल गरौं भनेर सोच्न एक दिन थपें । तर त्यो दिन पनि ६ जना सहकर्मिहरू अाफ्नो अडानमा नै रहे । यसो गर्नु अन्याय हो । बिवेकको हत्या हो भनेर सम्झाएँ । उनीहरू मानेनन् । उनीहरूको लोभको भाँडो नभर्ने नै भयो । हामी दुईजनाले हार खायौं । बहुमतको जित भयो । हामी अल्पमत प-यौं । यो प्रजातन्त्रको मान्यता हो भन्ने बुझ्यौं । मन बिरक्त भयो । शिक्षित ब्यक्तिहरूमा समानता र न्यायको चेतना अाएन भने अरूबाट के अाशा राख्न सकिन्छ भन्ने सोचले सतायो, मलाई । मन उद्वेलित भयो । अशान्त रह्यो । मस्तिष्क गह्रौं भयो । मैले रकम कम पाउने भयो भनेर हैन । यो असमान र अन्यायपूर्ण पारिश्रमिकलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्ता गर्न थालें । रिस उठ्यो । उठेको रिसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचमा परें । अन्यायपूर्ण बितरित रकम मैले लिइन । नयाँ विचार फु-यो ।त्यो रकमले एउटा फूल साईजको स्टील दराज र केही कुर्सी किनेर विद्यालयको नाममा चढाएँ । मन हलुका भयो । गणित शिक्षकले पनि लिन्न भनेका थिए । तर दुई दिनपछि उनले अाफ्नो रकम बुझी लिए ।
यो घटनाको छाप विद्यालयको पठनपाठनमा पर्न दिइन । फलस्वरूप २०४६ सालमा रात्री विद्यालयले एस.एल.सी.मा राम्रो नितजा ल्यायो । जिल्ला प्रथम भई पुरस्कार प्राप्त ग-यो । मेरो मन मस्तिष्कमा यो कथा बनेर स्मृतिमा छाइ रह्यो ।